ईश्वरको तारतम्य
Read-only lyrics view.
ईश्वरको तारतम्य हेर कति राम्रो ।
सधैं भरी गुप्त रही पालन गर्छन् हाम्रो ॥
हृदयमा हुन्छन् प्रभु विचार गरी हेर ।
प्रभुरामले नदेख्ने ठाउँ कहाँ के छ र ॥
सकिँदैन ईश्वरको आँखा छल्न हेर ।
जहाँ गयो उहीं पुग्छन् प्रभु आफु निर॥
ठुलो सानु भनी हामीले नगरौं भेदभाब ।
भोग्नुपर्छ प्रारब्धको जो छ आफ्नो भाग ॥
चौरासी लाख घुमी बल्ल मानिस चोला पायौं ।
कस्तो कस्तो दुःख कष्ट भोगी हामी आयौं ॥
मर्नु पर्छ आखिरमा बाँची रहने होइन ।
छाडी जाँदा साथमा हामीले लाने केहि छैन ॥
तेरो मेरो भन्दाभन्दै आइहाल्छ काल ।
जन्म लिने सबै हामी यही हुन्छ चाल ॥
छाडौं सब संसारको स्वार्थीपन सब ।
प्रेमले जप्ने गरौं राम नाम अब ॥
संसारैमा जन्म भई बाँचीरहने को छ ।
मर्नैपर्छ आखिरमा मनमा राख होस ॥
आज भोली भन्दाभन्दै मर्ने बेला हुन्छ ।
अन्तमा आइ कसले प्राण थामी दिन्छ॥
देह चट्ट छाडी जाँदा साथमा हुन्न कोही ।
भोग्नुपर्छ पाप पुण्य एक्लै रोइ रोइ॥